खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

असार ११, २०८२

रासस

Four youths from Nuwakot arrested in Jhapa with brown heroin

झापा — झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले प्रदेश ०१–०३–च ०८७७ नं को क्रेटा कार जाँच गर्दा लागुऔषध, कार र उनीहरूले प्रयोग गर्दै आएका मोबाइल बरामद गरिएको हो । 

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार पक्राउपर्नेमा नुवाकोट बेलकोटगढी–१३ बस्ने वर्ष ३१ को साजन तामाङ, वर्ष ३० को सजिन लामा, वर्ष ३३ को दिपेश लामा र बेलकोटगढी–११ बस्ने वर्ष २३ को राम तामाङ रहेका छन् । उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिइएको उनले बताए ।

पछिल्लो समय लागुऔषध कारोबार तथा ओसारपसारमा निजी सवारी साधनको प्रयोग बढिरहेकाले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्ममा झापा जिल्लाबाट दुई हजार ४०५ दशमलव १६५ ग्राम लागुऔषध बरामद भएको छ । 

यस्तै, जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/०८१ मा दुई हजार १७४ दशमलव १९५ ग्राम र आव २०७९/८० मा एक हजार ५५८ दशमलव ४५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको थियो ।

रासस

Link copied successfully