पाँचथर — पानीको सतहले डाइभर्सन पार गरेपछि मेची राजमार्गस्थित पााँचथरको हेवा खोलामा यातायात अवरुद्ध भएको छ । सोमबार साँझदेखि भइरहेको वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै यातायात अवरुद्ध भएको हो ।
आज बिहानैदेखि हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ हिँडेका सवारीसाधन बाटैमा रोकिएका छन् । खोला घटेसँगै डाइभर्सन मर्मत गरेर सवारी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए।
यस्तै वर्षाका कारण फिदिम-फालौट सडकखण्ड अन्तर्गतको सिदिन र प्राङबुङ जोड्ने मुवा खोला डाइभर्सनमा पनि क्षति पुगेको छ । उक्त स्थानमा पनि सवारी आवागमन हुन नसकेको स्थानीयले बताएका छन् ।
