उदयपुर — सुन चोरी गरेर फरार भएका एक व्यक्ति आठ महिनापछि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–७ भोटेनामलाङ ठुलोढुङ्गाका २९ वर्षीय निरोज लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी नायव निरीक्षक भोजराज श्रेष्ठका अनुसार लामाले २०८१ मंसिर ३० गते उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकस्थित पदम राईको घरमा ताल्चा फोरेर ४ तोला सुन र ६ लाख ४० हजार नगद चोरी गरेको आरोप लागेको थियो। घटनापछि बसाहा चौकीले लामाको खोजी गरेपछि प्रहरी र स्थानीयको आँखा छलेर भाग्न सफल भएका थिए।
प्रहरीको निरन्तर प्रयासपछि ईलाका प्रहरी कार्यालय बेल्टारको टोलीले आइतबार बिहान लामालाई सिन्धुपाल्चोकस्थित पाँचपोखरी थानपालबाट पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक बबिन राईले जानकारी दिए । पक्राउ परेका लामालाई ईलाका प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको बताइएको छ ।
सीसी क्यामेराको फुटेजको आधारमा अभियुक्तको हुलिया पत्ता लगाई उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राईले बताए ।
