सोलुखुम्बुमै पहिलो पटक संयुक्त विपद् व्यवस्थापन पोस्ट स्थापना

असार ९, २०८२

भानुभक्त निरौला

Joint Disaster Management Post established for the first time in Solukhumbu

सोलुखुम्बु — मनसुन सुरु भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक संयुक्त विपद् पोस्ट स्थापना गरिएको छ। विपद्को सामना गर्न सदरमुकाम नजिकै रहेको गार्मामा डेडिकेटेड संयुक्त विपद् व्यवस्थापन पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी असोजकुमार घिमिरेले जानकारी दिए ।

विपद्का घटनाको सूचना आउना साथ परिचालन हुने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त सुरक्षाकर्मीको टोलीलाई सोलुदुधकुण्ड नगरपालिका-७ को जोरबौद्धमा कार्यालय भाडामा लिएर नै तैनाथ अवस्थामा राखिएको प्रजिअ घिमिरेको भनाइ छ।

हाललाई दैनिक ११ जनाको टोली बस्ने र उक्त पोस्टमा विपद्का लागि चाहिने बन्दोबस्तका सबै सामान राखिएको छ । सम्भावित बाढी पहिरोका घटनामा उद्धारमा प्रयोग हुने सामान र गाडी पनि तैनाथ राखिएको नेपाल प्रहरीका डीएसपी मनोज कुँवरले बताए । टोलीमा सबै तालिम प्राप्त सुरक्षाकर्मी रहेको र सूचना आउन साथ तत्काल परिचालन हुने सशस्त्र प्रहरीका डीएसपी गोविन्द पोख्रलको भनाइ छ । 

जिल्लामा रहेको विभिन्न स्थानीय तहको समन्वयमा उद्धारमा प्रयोग हुने सामाग्रि जुटाईएको छ भने मनसुन भरि ३ महिनाका लागि घर भाडामा लिएर नै पोस्ट खडा गरिएको हो । उक्त पोष्टका २४ सै घण्टा सूचना दिन मिल्ने गरी छुट्टै मोबाईल नम्बरको ब्यवस्था गरिएको प्रजिअ घिमिरेले बताए । 

भानुभक्त

Link copied successfully