संखुवासभा — करदाता सेवा कार्यालय खाँदबारीले यो आर्थिक वर्षको ११ महिनामा ३१ करोडभन्दा बढी करबापतको राजश्व संकलन गरेको छ ।
खाँदबारीमा शुक्रबार आन्तरिक राजश्व विभागले आयोजना गरेको जरिवाना छुटसम्बन्धी कार्यक्रममा अझै १६ करोडभन्दा बढी राजश्व संकलन गर्न बाँकी रहेको कर कार्यालयले जनाएको छ । आन्तरिक राजश्व कार्यालयका निर्देशक वासुदेव पौडेलले विभिन्न कारणले कर नतिर्नेका लागि २०८२ को पुस मसान्तसम्म ब्याज र जरिवाना छुट दिएको बताए ।
आन्तरिक राजश्व कार्यालयले ढुवानी साधनको भाडा, अवकाश योगदान, सामाजिक संस्थालाई लाग्ने कर, मुल्यअभिवृद्धि करको जरिवाना, अन्तशुल्कको जरिवाना, आय विवरण पेस नगरेको अवस्था लगायतका शीर्षकमा करदातालाई छुटको व्यवस्था गरेको जनाएको छ । संखुवासभामा मात्रै २५ हजार बढी व्यवसायी करमा आबद्ध छन् ।
