काठमाडौँ — पूर्वी नाका काँकरभिट्टा हुँदै पछिल्लो ५ महिनामा ४८ सय पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२५ को ५ महिना (जनवरी-मे) मा ४८ सय पर्यटक पूर्वी नाकाबाट स्थलमार्ग हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । जुन तथ्यांकमा भारतीय पर्यटकको संख्या भने समावेश छैन । भारतबाहेक ६३ मुलुकबाट उक्त संख्यामा पर्यटक नेपाल आएका हुन् ।
सरदरमा यस नाका हुँदै दिनमा ३२ जना पर्यटक नेपाल भित्रिरहेको कार्यालयको भनाइ छ । सन् २०२४ मा यस नाकाबाट ६ हजार एक सय एकजना पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । सन् २०२४ को तुलनामा यस वर्ष पर्यटक भित्रने क्रम करिब दोब्बरले बढेको कार्यालय प्रमुख तुलसी भट्टराई बताउँछन् ।
‘२०२४ मा दैनिक सरदर १७ जना पर्यटक नेपाल भित्रन्थे । अहिले दैनिक ३२ जना पर्यटक नेपाल आइरहेका छन्,’ बुधबार काँकरभिट्टामा प्रेस क्लब मेचीनगरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘नेपाल भित्रने र नेपालबाट यस नाका हुँदै भारत जाने पर्यटकको संख्या उस्तैउस्तै छ । २०२४ मा यस नाका हुँदै ६ हजार एक सय ९७ पर्यटक भारत गएका थिए ।’
उनका अनुसार नेपाल भित्रने पर्यटकमा ८० प्रतिशत भुटानी छन् भने १० प्रतिशत अमेरिकी छन् । थाइल्यान्ड, बेलायत, अस्ट्रेलियालगायत ६३ मुलुकबाट यस नाका हुँदै पर्यटक नेपाल भित्रिएको कार्यायले जनाएको छ ।
