ठगी अभियोगमा पक्राउ परेका दुई जना धरौटीमा छुटे

असार ४, २०८२

डम्बरसिं राई

Two people arrested on charges of fraud were released on bail

खोटाङ — सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गरेको अभियोगमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ की प्रविका राईको जाहेरीले पक्राउ परेका रूपन्देही मजगौवाका शिवकुमार नाउ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की जुना कटवाल बुधबार धरौटीमा छुटेका हुन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले नाउ एक लाख र कटवाल २५ हजार रूपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए । कटवालको आइडीबाट प्रविकालाई पैसा लगानी गर्न उक्साएको र नाउको ईसेवा खातामा २७ हजार र रूपन्देही सूर्यपुराका शिवनाथ बरईको खातामा २०८१ जेठ ३१ गतेसम्म पटकपटक गरी एक लाख ९७ हजारसहित दुई लाख २४ हजार गएको भन्दै २०८१ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यसैको आधारमा कटवाल असार १ गते र नाउ जेठ ३० गते प्रहरी कार्यालय खोटाङमा उपस्थित भएका थिए । अर्का शिवनाथ बरई भने फरार रहेको प्रहरीले जनाएको छ । 

कटवालले आफ्नो आइडी ह्याक भएको भन्दै २०८१ असार १ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । पछिल्लो समयमा आइडी ह्याक गरेर ठगी गर्नेको संख्या बढेकाले प्रयोगकर्ताहरू सचेत रहनु पर्ने सूचना अधिकारी मिश्रको भनाइ छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully