पाँचथर — पाँचथरमा पहिलो पटक कृत्रिम बौद्धिकता (एआई) विधिबाट क्षयरोगको परीक्षण र पहिचान गरिएको छ ।
फिदिम नगरपालिकाको आयोजनामा २ सय ४६ जना नागरिकको क्षयरोग परिक्षण गरिएको हो। यत्तिका नागरिकको परीक्षण गर्दा ६ जना शंकास्पद बिरामी भेटिएका थिए । एक जनामा भने क्षयरोग पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश यादवले बताए ।
नगरपालिकाले क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटासँगको सहकार्यमा एआई विधिबाट जिल्लामै पहिलो पटक क्षयरोग परीक्षण गरेको हो । यो विधिबाट परीक्षण गर्दा एक मिनेटभित्रै बिरामीमा क्षयरोग भए नभएको पुष्टि हुने परीक्षणका लागि आएका धनकुटा जिल्ला अस्पतालका रेडियोग्राफर निरीक्षक डाक्टर अमित साहले बताए।
एआई विधिबाट परीक्षण गर्दा शंकास्पद भेटिएका ६ जनाको खकारबाट पुनः परीक्षण गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए। उनका अनुसार परीक्षणमा रोग पहिचान भएका एक जनाको मंगलबारदेखि नै निःशुल्क उपचार सुरु गरिएको छ ।
