मेयर–उपमेयर विवादले धरानमा २ दिनदेखि तनाव

असार ३, २०८२

एलिना राई

There has been tension in Dharan for 2 days due to the mayor-deputy mayor dispute

धरान — मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघा बीचको विवादले धरान उपमहानगरपालिका २ दिनदेखि तनावग्रस्त बनेको छ । वडा १६ मा रहेको बहुभाषिक पाठशालामा श्रमदानबाट गरिएको कामको जबर्जस्ती भुक्तानीका लागि दबाब दिएको र उपमहानगरपालिकाको डोजर, एक्स्काभेटर लगायतको चाबी उपमेयरले दिन नमानेको विषयमा विवाद हुँदा उपमहानगर दुई दिन तनावग्रस्त बनेको हो ।

श्रमदाताहरु चाबी माग्न उपमेयरको कार्यकक्ष पुगेपछि विवादले तनावको रुप लिएको हो । 

सोमबार दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समिति बैठकअघि मेयर साम्पाङको कार्यकक्षमा उपमेयर बेघाबीच विवाद भएको थियो । विवाद भएको कुरा बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका मेयरका समर्थकहरु उपमहानगर कार्यालय परिसरमा भेला भएका थिए भने माओवादीका नेताहरु आमनेसामने भएपछि स्थिति झन् असहज बन्न पुगेको थियो ।

बहुभाषिक विद्यालयको कामबापत पश्चिम सर्दु रोकथाम समितिले नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो । १७ लाख ४० हजार २ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेकोमा नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी माग गरेपछि उपमेयर बेघाले कानुनविपरीत भएको काममा समर्थन नगर्ने भन्दै भुक्तानी रोकेका थिए । धरान–१० को नारायणपथमा श्रमदानमा मेयर साम्पाङले आफूखुसी नगरको टिपर र डोजर प्रयोग गरेको भन्दै त्यसको चाबी उपमेयर बेघाले लिएपछि विवादले उग्ररूप लिएको हो ।

There has been tension in Dharan for 2 days due to the mayor-deputy mayor dispute

सोमबारदेखि बढेको विवाद मंगलबार थप चर्किएको हो । उपमेयरको कार्यालयमा चाबी माग्दै घेराउ गरेका श्रमदाताहरु र उपमेयर बेघा निकट माओवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा उपमहानगर तनावग्रस्त भएको हो । नगरपालिकाको डोजर, एक्स्काभेटरको चाबी मेयर साम्पाङ र कार्यालयको स्टोरमा पनि हुने श्रमदाताहरुलाई उपमेयर बेघाले बताएका थिए । मेयरसँग पनि चाबी भएकोले आफूसँग नभएको बताएपछि श्रमदाताहरु उपमेयर बेघामाथि खनिएका थिए ।

श्रमदाताहरुले श्रमदानबाट काम भइरहेको स्थानमा उपमेयर बेघाले अनावश्यक अवरोध गरेको आरोप लगाएका छन् भने माओवादीका कार्यकर्ताले श्रमदानमा सरकारी सम्पत्ति दुरुपयोग हुन नदिने भन्दै नाराबाजी गरेका थिए ।

भीडमा अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी तैनाथ रहेको थियो भने भीडलाई शान्त पार्न मेयर साम्पाङ, उपमेयर बेघालगायत वडा १० का अध्यक्ष विवेक राई, वडा १७ का अध्यक्ष सूर्यप्रसाद भट्टराई सहितको छलफल गरेका थिए ।

वडाध्यक्ष राईले आफ्नो वडामा काम गर्दा विवाद भएकोले मेयर र उपमेयर दुवैको साथमा रहेका चाबी आफूले राखेको र मंगलबारदेखि श्रमदानको काम सुरु हुने बताएका छन् । मेयर–उपमेयरको यो विवादले आगामी आर्थिक वर्षको बजेट तयारी नै प्रभावित हुने अवस्था बनेको छ । गत जेठ १६ गतेको बाढीपहिरोले क्षति पुर्‍याएको स्थानमा ग्याबिन तारजाली उपलब्ध गराउने विषयमा मेयर साम्पाङ र उपमेयर बेघाबीच मनमुटाव सुरु भएको थियो ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully