डेंगु नियन्त्रण गर्न दिक्तेल बजारमा लामखुट्टेको लार्भा नष्ट

असार ३, २०८२

डम्बरसिं राई

Destruction of mosquito larvae in Diktel market to control dengue

खोटाङ — डेंगु नियन्त्रणका लागि मंगलबार दिक्तेल बजारमा लामखुट्टेका लार्भा नष्ट गरिएको छ ।

वर्षामासमा डेंगुको प्रकोप बढ्ने भएकाले जनचेतनाका लागि दिक्तेल बजारको भवनगैरादेखि किरातचौकसम्म लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिएको हो ।

‘वर्षामा प्रकोप बढ्ने भएकाले लाखमुट्टेको लार्भा खोजी गरी नष्ट गरिएको हो,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले भने–‘लामखुट्टेले कहाँ अण्डा पार्छ र कसरी नष्ट गर्न सकिन्छ भन्ने बारे जनचेतना जगाउन अभियान स्वरूप लार्भा नष्ट गरिएको हो ।’

लामखुट्टको लार्भा नष्ट गर्ने अभियानमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायत जनप्रतिनिधिहरू, जिल्ला अस्पतालका डाक्टर पुस्कल राई लगायत स्वास्थ्यकर्मीहरूको सहभागिता थियो । 

लार्भा नष्ट गर्नुअघि डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रणको लागि सरोकारवालाहरूसँग अभिमुखीकरण तथा छलफल आयोजना गरिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताएका छन् । उक्त कार्यक्रममा जिल्ला अस्पताल खोटाङका डाक्टर पुस्कल राईले डेंगु लगायत किटजन्य रोगहरूबाट बच्ने उपायबारे जानकारी गराएका थिए । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully