खोटाङ — सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ की प्रविका राईको जाहेरीबाट रूपन्देही मजगौवाका शिवकुमार नाउ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की जुना कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कटवाल आइतबार र नाउ जेठ ३० गते प्रहरी कार्यालय खोटाङमा उपस्थित भएका थिए । कटवालको आइडीबाट प्रविकालाई पैसा लगानी गर्न उक्साएको र नाउको इसेवा खातामा २७ हजार र रूपन्देही सूर्यपुराका शिवनाथ बरईको खातामा २०८१ जेठ ३१ गतेसम्म दुई लाख २४ हजार गएको भन्दै २०८१ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यसैको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।
अर्का शिवनाथ बरई भने फरार रहेको प्रहरीले जनाएको छ । कटवालले आफ्नो आइडी ह्याक गरेर दुरुपयोग गरेको प्रहरीलाई बयान दिएको मिश्रले बताए । यो प्रकरणमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पेस गरिसकेको छ । ‘उहाँहरूमाथि बयान लिएर सरकारी वकिलकोमा पठाइएको छ,’ मिश्रले भने, ‘बयानमा ह्याकरले आफ्नो आइडी दुरुपयोग गरेको बयान दिनुभएको छ ।'
