सोलुखुम्बु — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पोस्टमार्टम गृह निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
वडा नम्बर ६ मुक्लिमा रहेको थुलुङ दुधकोशी अस्पताल नजिकै भवन निर्माण गरी शव पोस्टमार्टम गृह सञ्चालनमा ल्याइएको हो ।
यसअघि विभिन्न घटनामा ज्यान गुमाएकाको पोस्टमार्टमका लागि हजारौं रकम खर्च गरी जिल्ला अस्पताल फाप्लु नै शव ल्याउनु पर्ने बाध्यता रहेकोमा अब भने राहत भएको सोमबार भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले बताए । गाउँपालिकाको आफ्नै लगानीमा भवन निर्माण गरी कानुनीरूपमै शवको पोस्टमार्टम गृह सञ्चालन गरी सोलुकै सोताङ, महाकुलुङ र थुलुङ दुधकोशी गाउँपालिका लागि पोस्टमार्टम गर्न सहज बनाइएको अध्यक्ष राईको भनाइ छ । ‘एउटा शव फाप्लु पुर्याएर पोस्टमार्टम गर्दा ५० हजार रुपैयाँसम्म खर्च हुने अवस्थाको अन्त्य भएको छ,’ अध्यक्ष राईले भने, ‘यो पोस्टमार्टम गृहले सोलुको ३ पालिका मात्रै नभएर खोटाङको ऐंसेलुखर्कका नागरिकलाई पनि सहज हुने भएको छ ।’
गाउँपालिकाको ११ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले जानकारी दिए । पोस्टमार्टमका लागि थुलुङ दुधकोशी अस्पतालका चिकित्सकले नै काम गर्ने गाउँपालिकाले जनाएको छ ।
