काठमाडौँ — झापाको मेचीनगर-१ स्थित तिरिङ आसपासमा एउटा जंगली हात्ती मृत फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार पूर्ण वयस्क नभइसकेको पोथी हात्ती मकैबारीमा मृत फेला परेको हो ।
वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जंगली हात्ती मृत फेला परेको र उक्त स्थानमा डिभिजन वन कार्यालयको टोली पुगिसकेको बताए । उनका अनुसार उक्त हात्ती आज अथवा हिजो मरेको हुन सक्ने आाकलन गरिएको छ ।
‘हात्ती मृत फेला परेको हो । हाम्रो टिम पुगिसकेको छ । म पनि स्थलमै जाँदै छु,’ उनले भने, ‘हात्ती मृत्युको कारण भने खुलेको छैन । पोस्टमार्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट टोली बोलाएका छौं । आवश्यक अनुसन्धानपछि मृत्युको कारण बारे थाहा हुनेछ ।’
यस घटनालाई जिल्ला प्रहरीले पनि पुष्टि गरेको छ । जिल्ला प्रहरीका अनुसार आज बिहान करिब ९ बजे हात्ती मृत फेला परेको हो । प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ ।
तस्बिर : राजेश निरौला
