काठमाडौँ — कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्रोतभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार हाल प्रदेशसँग ३३ अर्ब रुपैयाँ बराबरको मात्रै स्रोत सुनिश्चित छ । तर, सरकारले करिब ३७ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्न लागेको हो ।
मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही स्रोत रोकेको र कतिपय स्रोतसम्बन्धी अधिकार हस्तान्तरण अझै नभएको उल्लेख गर्दै प्रदेश सरकारले स्रोत अभावका बाबजुद पनि शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारीमा रहेको बताए ।
उनका अनुसार कोशी प्रदेशको बजेटको आकार अघिल्ला वर्षहरूभन्दा घट्दो क्रममा छ। आर्थिक वर्ष २०७५/०७६ मा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएको भए पनि अहिले ३६/३७ अर्बमै सीमित हुनुपरेको कार्कीको भनाइ थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले दिउँसो ३ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
