पाँचथर — पाँचथरका दुई स्थानमा प्रहरी चौकी स्थापना गरिएको छ । कुम्मायक गाउँपालिका-५ स्याब्रुम्बास्थित भुल्के र फिदिम नगरपालिका-१४ को लुङरुपामा प्रहरी चौकी स्थापना गरिएको हो । चौकी स्थापना भएमध्ये भुल्के तमोर करिडोरमा पर्छ ।
तराईदेखि पहाड हुँदै हिमाल जोड्ने तमोर करिडोरको भुल्केमा सडक कालोपत्रे भएसँगै दुर्घटनाको जोखिम सँगै आपराधिक क्रियाकलाप हुने भन्दै स्थानीयले प्रहरी चौकी स्थापना गर्न माग गरेका थिए । उक्त प्रहरी चौकीको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले उद्घाटन गरेका हुन् ।
यस्तै लुङरुपामा स्थापना गरिएको प्रहरी चौकीको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले गरेका थिए ।
साविक लुङरुपा गाउँ विकास समितिमा पर्ने फिदिम नगरपालिका-१४ मा हालसम्म प्रहरी चौकी स्थापना भएको थिएन । स्थानीयले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नपाएको भन्दै पटकपटक प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएको पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले बताए ।
दुवै प्रहरी चौकीमा असइको नेतृत्वमा ६–६ जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
