माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Couple dies of electrocution while fishing

मोरङ — मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार श्रीमान्‌, श्रीमतीको मृत्यु भएको छ ।

स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनको श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए । मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’  गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको  घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारी नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully