हेवा खोलामा निर्माणाधीन बेलिब्रिज झर्‍यो, एक जनाको मृत्यु, तीन मजदुर घाइते

जेष्ठ ३१, २०८२

लक्ष्मी गौतम

Beilibridge under construction fell in Hewa river, one person died, three workers were injured

पाँचथर — मेची राजमार्गस्थित हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खसेको छ । जोडेर खोला वारिदेखि पारी पुर्‍याउने क्रममा पुल खसेको हो ।

पुल खस्दा एक जना मजदुरको निधन भएको छ भने तीन जना घाइते भएका छन् । 

पुल जोड्न खटिएका मजदुरको नाम र ठेगाना खुलाइएको छैन । पुल खसेर मानिस घाइते भएको खबर आएपछि आफू पनि घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको छ । पहिलो पटक २०८० साल असार २ गते आएको बाढीले यहाँ लगाइएको पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो । पुन: २०८१ असोज १२ गते सो बेलिब्रिज बगेपछि पुनः मोडुलर (बेलिब्रिज) बनाइँदै थियो ।

पुल के कारणले र कसरी खस्यो भन्ने विषय पुष्टि भएको छैन । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुटाउने हेवा खोलामा पुल र बेलिब्रिज बगेपछि डाइभर्सन गरेर गाडी वारपार गरिँदै छ ।

निर्माणाधीन बेलिब्रिज खसेपछि अब पाँचथर र ताप्लेजुङ सवारी आउजाउ प्रभावित हुने पक्का भएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully