पाँचथर — पौडी खेल्न गएका बेला तमोर नदीमा बेपत्ता भएका किशोर मृत अवस्थामा भेटिएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका-७ भालुखोप घर भएर फिदिम बजारमा बसोबास गर्दै आएका १६ वर्षीय शिशिर राई तमोर तेह्रथुमको छथर गाउँपालिका पुछारमा पर्ने तमोर नदीको किनारमा मृत अवस्थामा भेटिएका हुन् ।
उनी जेठ २४ गते पाँचथर र तेह्रथुमको सीमावर्ती तमोर नदीबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सोही दिनदेखि खोजी कार्यमा जुटेका सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरिरहेकोमा बुधबार साँझ उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी)कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
उनको शव इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खसेको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरेसँगै बुधबार राति जिल्ला अस्पताल पाँचथरमा ल्याइएको पनि बुढाथोकीले जानकारी दिए ।
