फिदिमका किसानलाई कृषियन्त्र मर्मत तालिम

जेष्ठ २८, २०८२

लक्ष्मी गौतम

Agricultural machinery repair training for farmers of Fidim

पाँचथर — फिदिम नगरपालिकाले यहाँका किसानलाई कृषिकर्ममा प्रयोग गरिने यन्त्र र उपकरण मर्मत गर्ने तालिम दिएको छ ।

खेतीपातीमा प्रयोग गरिने मिनी टिलर, घाँस काट्ने चाप कटरसहित स्प्रेयर मेसिन, र कम्माइन मिलका पार्टपुर्जा जोड्नेदेखि बिग्रेका अवस्थामा मर्मतका लागि आधारभूत ज्ञान दिन नगरपालिकाले तालिम आयोजना गरेको हो ।

१४ वटै वडाका विभिन्न टोलबाट प्रतिनिधित्व गर्ने १७ जना किसान र तीनका प्रतिनिधिलाई सातदिने तालिम दिइएको नगरपालिकाको कृषि पशुपंक्षी तथा मत्स्य विकास शाखाले जनाएको छ  ।

नगरपालिकाले किसानलाई वितरण गरेका औजार, यन्त्र र उपकरण बिग्रँदा मर्मत गर्ने कालिगढको अभावमा मर्मत गर्न नसकिने भन्दै किसानले तालिम दिन माग गर्दै आएका थिए ।

नगर प्रमुख मित्रप्रसाद काफ्लेले किसानकै मागका आधारमा यो तालिम आयोजना गरिएको बताए । किसानले तालिममा सिकेको सिप व्यवहारमा लागु गर्ने हो भने रोजगारी र स्वरोजगार बन्न सक्ने काफ्लेको टिप्पणी थियो ।

सहभागी फिदिम ११ का कृष्णप्रसाद अधिकारीले तालिम उपयोगी र व्यवहारिक भएको टिप्पणी गरे ।

तालिममा १ दिन सैद्धान्तिक र ६ दिन व्यवहारिक ज्ञान प्रदान गरिएको प्रशिक्षक टेकनाथ काफ्लेले बताए ।

फिदिम नगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेको छ ।

फिदिमले यो वर्ष किसानलाई वितरण गर्न ३ करोड ६० लाख रुपैयाँका कृषि यन्त्र र औजार खरिद गरेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully