उदयपुर — उदयपुरको कटारी नगरपालिका–११ ठाँटीमा नचिनिने अवस्थामा एक महिलाको शव फेला परेको छ । सिद्धिचरण लोकमार्गदेखि ५० मिटरमुनि जंगलमा सडेगलेको अवस्थामा बुधबार दिउँसो शव फेला परेको हो । स्थानीयले सल्लेरी वनमा शव देखेपछि प्रहरीलाई खबर गरेको कटारी नगरपालिका–११ का वडाध्यक्ष अनन्त हायुले बताए ।
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोली, ११ नम्बर वडाका वडाध्यक्ष, १४ नं वडाका वडाध्यक्ष अम्बरबहादुर मगरलगायतले शव पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याएका छन् ।
प्रहरी नायव उपरीक्षक कमल बजगाईंका अनुसार अन्दाजी ३५ वर्षीया देखिने तराईमूलकी महिलाको शव भेटिएको हो । ‘भीरबाट शव निकालेर ल्याउँदै छौं, अनुहार सडिसकेकाले चिन्न सक्ने अवस्था छैन, पाउजु र नङ पालिसबाट महिला भएको यकिन भयो,’ उनले भने । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बजगाईंले बताए ।
