काठमाडौँ — मनसुनको सुरुवातीसँगै झापामा डेंगी संक्रमितको संख्या बढ्न थालेको छ भने जोखिम पनि उच्च बन्दै गएको छ । वैशाखपछि मात्रै जिल्लामा ३९ जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालय प्रमुख रमेश बारकोटीका अनुसार विर्तामोड, दमक र गौरादहमा डेंगी संक्रमण पुष्टि भएको छ । विर्तामोडमा ३७ जना, दमक र गौरादहमा १–१ जनामा संक्रमण पुष्टि भएको उनले जनाए ।
यद्यपि यो जिल्लाभरको यकिन तथ्यांक भने होइन । ‘सबै पालिकाले तथ्यांकगत रुपमा रिपोर्ट गरिसकेका छैनन् । जिल्लाभर संक्रमतिको संख्या यति मात्रै होइन,’ उनले भने, ‘अधिकांश रिपोर्ट अस्पतालबाट प्राप्त भइरहेकाले कुन क्षेत्रमा संक्रमितको संख्या उच्च छ भनेर पत्ता लागिसकेको छैन । हामी क्षेत्र पत्ता लगाउने र सतर्कताका उपायहरु अपनाउने कार्यहरु गरिरहेका छौं । जिल्लामा महामारीकै रुपमा संक्रमण फैलिएको भने होइन ।’
जिल्लामा अघिल्लो वर्षमा मात्रै चार हजार हाराहारी नागरिकमा डेंगीको संक्रमण देखिएको थियो भने दुई जनाको मृत्यु नै भएको थियो । यसवर्ष पनि मनसुनको सुरुवातसागै जिल्लामा संक्रमण देखिने क्रम बढेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।
