बेपत्ता रहेका महिला र बालिकाको शव फेला

जेष्ठ २६, २०८२

आनन्द गौतम

Bodies of missing women and girls found

ताप्लेजुङ — गत जेठ २२ गते पानी पिउने क्रममा तमोर नदीमा बेपत्ता ११ वर्षकी गंगा शेर्पा र १९ गतेदेखि बेपत्ता ३७ वर्षकी कमला शेर्पाको शव फेला परेको छ । गंगा फुङलिङ नगरपालिका-३ टारबारी र कमला आठराई त्रिवेणी २ फुलबारीकी हुन्। 

गंगाको शव तेहृथुम जिल्लाको छथर गाउँपालिका-२ खिरखिरे नावाखोला नजिक र कमलाको पाँचथरको हिलिहाङ गाउँपालिका-२ दुधेपानीमा फेला परेको प्रहरीले जनाएको छ । दुवै ताप्लेजुङबाट बगी गएको अनुमान प्रहरी तथा परिवारको छ । 

गंगा पानी पिउने क्रममा बगेकी थिइन् भने कमला घरबाटै हराइ बेपत्ता भएकी थिइन् । नदीले बगाएको दखेपछि नदी किनारमा गंगाको लगातार खोजी गरिरहँदा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सुचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । 

दुवै शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने बस्नेतले बताए । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully