ताप्लेजुङ — जिल्लाका हरेक पालिकाका एक-एक जना किसान पुरस्कृत भएका छन्। नौ वटा स्थानीय तह रहेको जिल्लाका नौ किसानलाई कृषि ज्ञान केन्द्रले पुरस्कृत गरेको हो। विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर उत्कृष्ट किसान सम्मान कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ज्ञान केन्द्रका प्रमुख बिमला पोखरेलका अनुसार सम्बन्धित स्थानीय तहको सिफारिस र उत्कृष्ट किसान छनौट समितिको निर्णय अनुसार पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा मिक्वाखोला गाउँपालिकाका डम्बरबहादुर बस्नेत, मैवाखोलाका छत्रबहादुर लिम्बू, सिदिङ्वाका इन्द्रबहादुर लिम्बू, मेरिङदेनका विजयप्रकाश चोङवाङ, आठराई त्रिबेणीका शंकरनारायण श्रेष्ठ, पाथीभरा याङवरकका सन्तोष खिम्दिङ, फक्ताङलुङका भक्तबहादुर कार्की, सिरिजङ्गाका छत्रमान कुँवर र फुङलिङ नगरपालिकाका पोष्टबहादुर कार्की रहेका छन् ।
जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम र कृषि ज्ञान केन्द्रका प्रमुख पोखरेलले किसानलाई नगद, प्रमाण–पत्र तथा दोसल्ला प्रदान गरेका थिए । सन् २०१९ बाट हरेक वर्ष जुन ७ तारेखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ । यसबर्षको नारा ‘खाद्य पदार्थमा स्वच्छता,विज्ञानको अपरिहार्यता’ रहेको थियो ।
