पाँचथर — तमोर नदीमा पौडी खेल्न गएका एक जना युवक बगेर बेपत्ता भएका छन्। फालेलुङ गाउँपालिका-७, भालु खोप निवासी भिमकुमार राईका १६ वर्षीय छोरा शिशिर राई शनिबार फिदिम बजारदेखि पौडी खेल्न गएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएका हुन्। उनलाई तमोरले बगाएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरीको उद्धार टोलीसँगै स्थानीयले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।
आइतबार बिहानैदेखि उनको खोजीका लागि स्थानीय र प्रहरीको उद्धार टोली परिचालन भएको प्रहरीले जनाएको छ।
