ताप्लेजुङमा पनि डेंगी संक्रमणको जोखिम, सतर्कता अपनाउन आग्रह

जेष्ठ २४, २०८२

आनन्द गौतम

Risk of dengue infection in Taplejung too, urge to be cautious

ताप्लेजुङ — ताप्लेजुङमा डेंगी सङ्क्रमणको जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्यकर्मी, सञ्चारकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतलाई सहभागी गराई डेंगी संक्रमणको जोखिम र अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउँदै यस्तो आग्रह गरेको हो । 

गर्मीयाम सुरु भएको र धेरै नागरिकमा यससम्बन्धी सचेतना नभएकाले सावधानीको विषयमा समुदायसम्म सन्देश पुर्‍याउन पनि सरोकारवालालाई आग्रह गरिएको छ । डेंगी सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट तथा डेंगी नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उदयनारायण दुलालले तराईसहितका गर्मी क्षेत्रमा हुने डेंगी सङ्क्रमण पछिल्लो समय पहाड तथा हिमाली क्षेत्रमा समेत देखापर्न थालेकाले जनस्तरसम्म कार्यक्रम पुर्‍याउन आवश्यक रहेको बताए । गत वर्ष ४५ जनामा डेंगी सङ्क्रमण देखिएको थियो । 

सदरमुकाम रहेको फुङलिङ नगरपालिका क्षेत्रमा बढी देखिएकाले गतवर्ष लार्भा नष्ट गर्ने, पानी जमेको ठाउँको पानी हटाउने जस्ता क्रियाकलाप गरिएको फुङलिङ नगरपालिका स्वास्थ्य शाखाका मौसम  खवासले बताए । उनका अनुसार गाउँको तुलनामा सहरमा यस्तो सङ्क्रमण बढी हुने भएकाले यस वर्ष पनि नगरपालिकाले संक्रमण रोक्न कार्यक्रम राखेको छ ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully