विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोपमा शिक्षा अधिकारीसहित ९ विरुद्ध मुद्दा

जेष्ठ २३, २०८२

डम्बरसिं राई

Case against 9 including education officials on charges of corruption in construction of school building

खोटाङ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको हो ।

उक्त विद्यालय भवनमा बदनियतपूर्ण तरिकाले २५ लाख ५० हजार रूपैयाँ अनियमितता गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् । विज्ञप्तिमा तत्कालीन शिक्षा अधिकारी नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव, सब–इन्जिनियर शिवराज भट्टराई, लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठमाथि मुद्दा दायर गरिएको उल्लेख छ ।

त्यस्तै कृष्ण माविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, भवन निर्माणताका विद्यालय व्यवस्थापन समितिको अध्यक्षता गरेका टीकाराम राई, हरिनारायण राई र भवन निर्माण गर्ने जयप्रसाद राईविरुद्ध मुद्दा दायर भएको हो । प्रतिवादीहरू विरुद्ध जनही २५ लाख ५० हजार रूपैयाँ बिगो दाबी गरिएको छ ।

कृष्ण माविको चारकोठे पक्की भवन निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयको २४ लाख अनुदान र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी ४५ लाख १० हजार ८९२ रूपैयाँमा सम्झौता भएको थियो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully