संखुवासभा — भोटखोला गाउँपालिकाको विभिन्न वडामा रहेका ५ वटा काठेपुल बुधबार दिउँसो आएको बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी दक्षकुमार बस्नेतका अनुसार भोटखोला १, २ र १, ३ जोड्ने धुङगोपा खोलामा रहेका १५/१५ मिटर लामो २ वटा काठेपुल बगाएको हो । त्यस्तै भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ ।
उता भोटखोला १ र ३ जोड्ने छोकाङ खोलामा रहेको २० मिटर लम्बाई भएको काठे पुल बगाएको उनले बताए । उनका अनुसार भोटखोला १ र ३ जोड्ने माप्च्या खोलामा रहेको १५ मिटर लामो काठे पुल पनि बगाएको छ । भोटखोलामा बाढी र पहिरो यो वर्ष धेरै स्थानमा गएको स्थानीयले बताएका छन् ।
माथिल्लो क्षेत्रहरूमा अहिले पनि निरन्तर वर्षा भइरहेको हुँदा सम्भावित थप जोखिमप्रति स्थानीय बासिन्दाहरूलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले आग्रह गरेका छन् ।
