विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्याय, समानता र समावेशिताको आधारमा जातीय विभेद अन्त्य गर्दै सामाजिक एकता तथा सहिष्णुताको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले सबै प्रकारका विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।
उनले २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको जगमा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने क्रममा यो दिवस मनाउन थालिएको उल्लेख गर्दै जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दिनले हरेक प्रकारका विभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प बोकेको बताए।
'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न विभेद र विकृतिपूर्ण संस्कारको अन्त्य गर्दै अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए। नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै उनले विविधता भित्रको एकता नै राष्ट्रिय समृद्धिको आधार भएको धारणा राखेका छन्।
