संखुवासभा — भोटखोला गाउँपालिका–४ को बरुण नदीमा ६० मिटर लामो पक्की पुल निर्माण सुरु भएको ३ वर्ष बित्यो । पुल ठड्याउने काम पनि भइसकेको छ । तर, निर्माण कम्पनीले पुलमाथि ढलान नगर्दा वारपार गर्न स्थानीयलाई सास्ती भएको छ ।
हिँउदका बेला खाँदबारीबाट १ सय ४२ किलोमिटर अर्थात् च्याम्तांङ गाउँसम्म साना सवारी साधन र ट्याक्टर पुग्छ । वर्षात्मा भने बरुण नदीमा बाढी आएपछि यातायातका साधन चल्न सक्दैन । बरुण नदीमा हिँउदका ५ महिना यातायातका साधन चलाउन राखिएको हृयुमपाइप पनि बाढीले बगाउन लागेको भोटखोला गाउँपालिकाका अध्यक्ष वांगछेदर लामाले बताए ।
पुल उत्तर दक्षिण कोशी सडक योजनाले २०७८ चैत २ मा पक्की पुल निर्माणका लागि ठेक्का लगाएको थियो । गत वर्षको चैतमा पुल निर्माणको म्याद सकिँदा दुवैतिर चर उठाउने मात्रै काम भयो । त्यसपछि योजना कार्यालयले २०८१ पुस १९ सम्म म्याद थप्दा खासै अघि बढ्न सकेन । त्यसपछि असार मसान्तसम्म म्याद थप गरेको समयमा निर्माण कम्पनीले पुल निर्माण गर्यो ।
ढलान गर्ने बेलामा निर्माण व्यवसायी फरार भएको अध्यक्ष लामाले बताए । ‘पटक–पटक फोन सम्पर्क गर्दा सम्पर्कमा आएनन्, बरुणमा लगाइएको ह्युमपाइप बगाइसक्यो, भोट खोलाबासीलाई समस्या थपिएको छ । ८० मिटर ढलान गरिदिएको भए सहजै पुलबाट गाडी तर्थ्यो,’ उनले भने, ‘मध्य बर्खामा ठेकेदार सम्पर्क विहीन भएका छन् ।
हिँउदका बेला खाँदबारीबाट १ सय ४२ किलोमिटर अर्थात् च्याम्तांङ गाउँसम्म साना सवारी साधन र ट्याक्टर पुग्छ । वर्षात्मा भने बरुण नदीमा बाढी आएपछि यातायातका साधन चल्न सक्दैन । बरुण नदीमा हिँउदका ५ महिना यातायातका साधन चलाउन ह्युमपाइप राखिएको थियो ।’
भोटखोला गाउँपालिका ३ हटियाका छेरुक भोटेको हटिया बजारमा सानो किराना पसल छ । हिउँदका ५ महिना घरसम्मै ट्याक्टर पुग्छ र सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएको दैनिक उपभोग्य वस्तु लैजान्छन् । कच्ची सडकमा यातायातका साधन चल्दा हटियासम्म सामान ढुवानी हुँदा प्रतिकिलो ३० रुपैयाँमा पुग्छ । तर, वर्षातका बेला भने खाँदबारीबाट ८२ किमि मात्रै सडक मुस्किलले चल्छ ।
‘बरुणबाट च्याम्ताङको दूरी ६० किलोमिटर लामो पर्छ । त्यसपछि सामान ढुवानी गर्न खच्चड या भरिया प्रयोग गर्नुपर्छ । पुल नहुँदा बरुण नदीबाट गाडी तर्दैन,’ उनले भोटेले भने, ‘त्यसपछि हाम्रो दुखका दिन सुरु हुन्छ । नुन तेलको मूल्य बढ्छ, आवतजावत नै बन्द हुन्छ, ‘बरुण नदीमा पुल निर्माण सुरु भएको तीन वर्षमा पनि पूरा नहुँदा हामीले मार खेप्नु परिरहेको छ ।’
वर्षात्मा बरुण नदीले हृयुम पाइप नै बगाइदिने गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनले भने, ‘पुल नबनेका कारण हटिया, हुंङगुङ लिंगम, चेपुवा, च्याम्ताङ, छुम्सुर, रिदाक, छुदाम र किमाथाङ्काका बासिन्दा खाँदबारीसँग सम्बन्ध विच्छेदको अवस्था रहन्छ ।’ भोटखोला गाउँपालिकाको बरुण बजारभन्दा माथिका बासिन्दाले एउटा पुल समयमै निर्माण नहुँदा सास्ती खेप्नुपरिरहेको उनले बताए ।
सडक र पुल नहुँदा त्यस क्षेत्रका जनताका जीवनशैली फेरिन नसकेको उनले बताए । बरुण माथि रहेको झोलुंगे पुल पनि पुरानो भएकाले जीर्ण र धराप भइसकेको छ । पुल अलपत्र हुँदा हिँउदमा भन्दा पनि वर्षात्मा बढी समस्या हुने गरेको बरुणका स्थानीय छिरुक भोटे बताउँछन् ।
‘कठिन भूगोल छ, बाढी आएपछि गोला बजारबाट दुई दिन पैदल हिँडेर यात्रा गर्नुको विकल्प छैन,’ उनले भने, ‘खाँदबारीबाट गोला बजारसम्म ८२ किलोमिटर सडकमा जसोतसो गाडी त गुड्छ तर, त्यहाँ भन्दा माथि लैजान सकिँदैन ।’
अलपत्र पुल निर्माण भए माथिल्लो भेगसँग सडक जोडिन्थ्यो, त्यति नै छिटो यस क्षेत्रका बासिन्दाको दुःख अन्त्य हुने उनले बताए । सडक र पुल स्थलगत अनुगमनका क्रममा भोटखोला पुगेर फर्किएका कोशी प्रदेश संखुवासभा (क) क्षेत्रका सांसद राजेन्द्र कार्कीले सडकको अवश्था राम्रै भए पनि पुलका कारण स्थानीयले दु:ख पाएको बताए ।
उनले बरुणमा पुल निर्माण छिटो भए ट्रयाक खुलेको ठाउँसम्म समान ढुवानी र भोटखोलाबासीलाई सदरमुकाम आउन र जान धेरै सहज हुने बताए । पटक–पटक निर्माण कम्पनी र उत्तर दक्षिण कोशी सडक योजनासँग छलफल गरे पनि पुल निर्माण नभएको उनले बताए । ठेक्का सम्झौता अनुसार काम ढिलाई गरेर म्याद थप्नेमात्रै काम गर्न नहुने उनको भनाइ छ । तोकिएको समयमा काम नगर्ने कम्पनीलाई कारबाही गरेर अघि बढ्नुपर्ने उनले बताए ।
६० मिटर लामो पुल निर्माणका लागि हिन्दुङ एण्ड थोकर/विवस/एसए एस कम्पनीले ठेक्का लिएको छ । पुल भ्याटसहित १६ करोडमा निर्माण भइरहेको छ । उत्तर–दक्षिण कोशी सडकका सूचना अधिकारी नरेश जिरेलले २०८२ को असारसम्ममा पक्की पुलको काम सक्ने बताउँछन् । उनले फाउन्डेशन र स्टिलका स्टकचर जोडिसकेको बताए ।
भोटखोला क्षेत्रमा उत्तर–दक्षिण कोशी सडक योजनाले यसअघि ११ वटा पुल निर्माण गरिसकेको जनाएको छ । खाँदबारीबाट १ सय ६२ किलोमिटरमध्ये १ सय ५९ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ ।
