विराटनगर — मोरङको रतुवामाई नगरपालिकाले कृषिको यान्त्रीकरण र आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित १ करोड १० लाख रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ ।
बुधबार रतुवामाई–७ मा आयोजित एक समारोहका बीच नगरपालिकाले ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको साझेदारीमा कृषि उपकरण वितरण गरेको हो । कार्यक्रममार्फत पालिकाका १० वटा वडामा रहेका १६० कृषक समूह तथा कृषिफर्महरूलाई विभिन्न कृषि उपकरण वितरण गरिएको छ । वितरण गरिएका उपकरणहरूमा १ सय ५० थान च्यापकट्टर मेसिन, २० थान स्प्रे ट्यांकी, १ सय १२ थान मकै छोडाउने मेसिन र १ सय ६५ थान मकै रोप्ने मेसिन समावेश छन् ।
नगरप्रमुख नागेश्वरप्रसाद सिंह र प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद बरालले उपकरण हस्तान्तरण गरेका थिए । नगर प्रमुख सिंहकाअनुसार ‘कृषि यान्त्रिकरण प्रवर्द्धन’ अन्तर्गत सञ्चालित कार्यक्रममा रतुवामाईका अधिकांश नागरिक कृषिमा आधारित रहेकोले कृषिलाई व्यावसायिक रूपान्तरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । 'यस किसिमको सहकार्यबाट कृषिमा यान्त्रिकरणको विस्तार हुँदै जान्छ र किसानलाई आधुनिक प्रविधिमा पहुँच सजिलो हुन्छ,' नगरप्रमुख सिंहले बताए ।
नगरपालिकाले वितरण गरेको उपकरणले कृषिमा सहजता ल्याउने, श्रम लागत घटाउने तथा उत्पादन वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
