खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा यलम्बरको सालिक निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश र स्थानीय तहको करिब ११ करोड ५८ लाख रुपैयाँभन्दा ढीको बजेटमा ११० फिट अग्लो सालिक निर्माण गरिएको हो ।
उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा तीन करोड ९१ लख १६ हजार छ सय १५ रूपैयाँ, आव २०७९/८० मा एक करोड ६५ लाख ४१ हजार चार सय, आव २०८०/८१ मा एक करोड ९० लाख २३ हजार नौ सय र आव २०८१/८२ मा एक करोड ९३ लाख ४३ हजार चार सय गरी ९ करोड ४८ लाख २५ हजार तीन सय १५ रूपैयाँ भुक्तानी लिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् ।
कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ १८ गते सालिक उद्घाटन गर्ने भनिए पनि स्थगित भएको भट्टराईले बताएका छन् । ‘मुख्यमन्त्रीको कार्यव्यस्तताका कारण स्थगित गरिएको हो,’ उनले भने ।
