काठमाडौँ — युवामा उद्यमशीलता प्रेरित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले मंगलबारदेखि युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन अभियान सुरु गरेको छ । सम्मेलन कोशी प्रदेशको विराटनगरबाट सुरु गरिएको हो ।
सम्मेलनमा प्रदेशगत रुपमा युवालाई अभिमुखीकरण दिइएको र यसका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म, सरकारीदेखि निजीसम्म, उद्यमीदेखि विज्ञसम्म, उद्योग वाणिज्यदेखि बैंकिङ क्षेत्रसम्मका व्यक्तित्वहरु सम्मिलित प्यानल छलफल राखिएको परिषद्का कार्यकारी उपाध्याक्ष सुरेन्द्र बस्नेतले बताए । उनका अनुसार विराटनगरपछि मधेश प्रदेशको जनकपुर, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र बागमती प्रदेशको काठमाडौंमा सम्मेलन आयोजना गरिने छ ।
सम्मेलनमा अनलाइन आवेदनका आधारमा छनौट भएका १६ देखि ४० भित्रका नवउद्यमी तथा उद्यमी बन्न चाहने युवाको सहभागिता रहनेछ । उद्यमशीलता प्रवर्द्धनका विभिन्न क्षेत्रमा खुला छलफल, बहस तथा अन्तरक्रियालाई सम्मेलनमा समेटिने जनाइएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, प्रदेश सांसद जांगबो शेर्पा, मोरङ उद्योग संगठनमा अध्यक्ष राकेश सुरानालगायत अतिथि सहभागी थिए । सम्मेलनमा बोल्दै प्रदेश लगानी प्राधिकरणका सिईओ सरोज कोइरालाले प्रदेशमा युवा उद्यमशिलताको संभावना र सम्मेलनको अन्तिम सत्र रुपमा रहेको युवाका लागि अवको निकास उद्यमशीलता, रोजगारी र सिप विकास सत्रमा मुख्यमन्त्री हिक्मत कार्कीका आर्थिक सल्लाहकार मोहनकुमार सुवेदीले सरकारको युवा मैत्री योजनाका बारे प्रकाश पारेका थिए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख शाखा व्यवस्थापन रिसभ भट्टराईले युवालाई उद्यमशिलताका लागि सस्तो व्याजदरमा कर्जा पाइने विषयबारे बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका प्रदेश निर्देशक उमेशप्रसाद खरेलले प्राविधिक शिक्षाबाट आर्य आर्जनका पाटो सहज हुने विषयबारे प्रकाश पारे । पूर्वमुख्यमन्त्री केदार कार्कीले युवामा कुनै न कुनै सीप भएमा मात्र आत्मनिर्भर हुन सक्ने बताए ।
