लेउतीकाे बाढीले सडक बगाउँदा धरान-धनकुटा मार्ग अवरुद्ध

जेष्ठ १७, २०८२

रमेशचन्द्र अधिकारी

The Dharan-Dhankuta route was blocked when the road was swept away by the flood of Leuti

धनकुटा — अविरल वर्षाका कारण साँगुरीगढी गाउँपालिका–६ स्थित लेउती खोलामा शुक्रबार राति आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मूलघाट-सिम्सुवाखण्ड अवरुद्ध भएको छ ।

साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा करिब ८० मिटर कालोपत्रे सडक बगाएको प्रहरीले जनाएको छ । सडक बगाएपछि धनकुटासहित पूर्वी पहाडी जिल्ला तेह्रथुम, भोजपुर, सङ्खुवासभासहित तमोर करिडोर भएर पाँचथर र ताप्लेजुङको यातायात र ढुवानी ठप्प रहेको छ ।

उक्त स्थानमा सयौँ यात्रु अलपत्र परेका छन् । उनीहरु उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् । उद्धारको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी टुबराज पाेखरेलले बताए । त्यसैगरी शनिबार बिहान ६:४० बजे धनकुटाकाे चौबिसे गाउँपालिका–४ स्थित निर्माणाधीन तमोर करिडोर सडक खण्डसमेत अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण छरुवा खोलमा बाढीले सडक भत्किएको जनाइएको छ । दुवैतर्फ सवारी साधन आवतजावत ठप्प बनेको छ ।

थप क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully