मालपोत र नापी कार्यालयका कागजात अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गरिने
काठमाडौँ — लामो समयदेखि सीमा विवाद रहेको सोलुखुम्बु र ओखलढुंगाको बुलबुले क्षेत्रको विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । शनिबार दुई जिल्लाका सुरक्षा समिति पदाधिकारीको सल्लेरीमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले संयुक्त यस्तो निर्णय गरेको हो ।
सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने तोलु गुम्बा, बुलबुले, लोमुजे बौद्ध हुँदै छुटाँगाका क्षेत्रमा २०४३ सालदेखि नै सीमा विवाद रहेकामा कुन जिल्लाको हो भनी यकिन गर्न समिति गठन गरिएको हो । उक्त क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका या सोलुको सोलुदुधकुण्ड नगरपालिका कहाँ पर्ने भन्ने विषय विवादित छ ।
बैठकले दुवै जिल्लाको मालपोत र नापी कार्यालयका कागजात अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । समितिमा ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौडेल) संयोजक, सोलु र ओखढुंगाका मालपोत र नापी कार्यालयका प्रमुख सदस्य र जिल्ला प्रशासन सोलुका नायब सुब्बा सुमन कार्की सदस्य सचिव रहेका छन् ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी आफ्नो नेतृत्वमा जिल्लाको सुरक्षा समितिको टिम लिएर बैठकका लागि सोलुखुम्बु सदरमुकाम सल्लेरी आएका हुन् । बैठकमा दुवै जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको उपस्थिति थियो । बैठकले वर्षायाममा दुवै जिल्लालाई छुने राजमार्ग सहज सञ्चालनका लागि आवश्यक पहलकदमी लिने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा संयुक्त रणनीति निर्माण गर्ने लगायतका निर्णय गरेको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि सडकमा रिफ्लेक्टर्स बत्ती राख्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको सोलुखुम्बु प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
