धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित लेउती खोलाको बाढीले अवरुद्ध बनाएको कोशी राजमार्गको लेउती सडक खण्डमा डाइभर्सन बनाउन कठिन भएको छ । लेउती खोलामा बाढी आइरहेकाले डाइभर्सन बनाउन नसकिएको हो ।
अविरल वर्षाका कारण आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गअन्तर्गत धनकुटामा पर्ने फेदी क्षेत्रमा झन्डै ५० मिटर कालोपत्रे सडक बगाएको छ । त्यसपछि दर्जनौँ सवारीसाधन सोही स्थानमा रोकिएका छन् । प्रभावित मूलघाट–सिम्सुवा खण्डमा डाइभर्सन बनाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक बगेपछि धनकुटासहित तेह्रथुम, भोजपुर, संखुवासभा तथा तमोर कोरिडोर भएर पाँचथर र ताप्लेजुङतर्फ आवतजावत गर्ने सवारी र ढुवानी साधन रोकिएका छन् । लेउती खोलाको बाढी अझै नघटेकाले डाइभर्सनका लागि क्षतिग्रस्त स्थानमा डोजर र एक्स्काभेटर पुर्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताए ।
वारिपारि रहेका सवारीसाधन प्रयोग गरेर रोकिएका यात्रुलाई गन्तव्यतर्फ पठाउने प्रयास भइरहेको उनले जनाएका छन् । उक्त स्थानमा पैदल यात्रुका लागि वैकल्पिक मार्ग भने निर्माण भइरहेको छ । खोलामा बाढी घटेसँगै डाइभर्सनको काम सुरु गरिने जनाइएको छ ।
