धनकुटा — कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीमा लेउती खोलाले बगाएर अवरुद्ध सडक शनिबार साँझ सवा ६ देखि एकतर्फी सञ्चालनमा आएको छ । उक्त स्थानमा अस्थायी डाइभर्सन बनाएर सडक खुलाइएको प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले जानकारी दिए । बाढी कम हुँदै गएकोले खोला बगेकै स्थानमा ड्राइभर्सन बनाइएको उनले बताए ।
सडक खुलाउन सडक विभागको १ र अन्य ३ वटा एक्स्काभेटर प्रयोग गरिएको छ । लेउती खोलाको धार फर्काएर अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा दुवैतर्फ कम्तीमा तीन/तीन किमि यातायात राेकिएका छन् । अलपत्र यात्रुलाई भने प्रहरी तथा सेनाले दिउँसोदेखि वैकल्पिक मार्गबाट पैदल वारिपारि गराएकाे छ ।
