फिदिमका किसानलाई ३ करोड ६० लाख मूल्यका कृषि औजार

मिनी टिलर, प्लास्टिक टनेल, कम्बाइन्ड मिल, च्याफ कटर र भेटेरिनरीसम्बन्धी उपकरणमा किसानको ५० प्रतिशत साझेदारी रहने

जेष्ठ १५, २०८२

लक्ष्मी गौतम

Agricultural implements worth 36 million to the farmers of Fidim

पाँचथर — कृषि कर्ममा सघाउन फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ६० लाख रुपैयाँ बराबरका कृषि औजार र उपकरण खरिद गरेको छ ।

विद्युतीय माध्यमबाट बोलपत्र आहृवान गरी खरिद गरिएका यी उपकरण नगरपालिकाका १४ वटै वडाका नागरिकलाई मागका आधारमा वितरण गरिने नगरप्रमुख मित्रप्रसाद काफ्ले जानकारी दिए ।

काफ्लेका अनुसार नगरपालिकाले १८१ वटा मिनी टिलर, १६० वटा च्याफ कटर, ५४४ वटा टनेल, ६५ वटा प्लास्टिक पानी पोखरी, १८५ वटा राइस मिल, ११ वटा मकै छोडाउने मेसिन, २ वटा उखु मिल, ४० वटा स्प्रेयर, ९०० वर्ग मिटरका लागि इन्सेक्ट नेट, ५३ वटा काउ म्याट, २० वटा फ्रिज, १४० वटा मिल्क क्यान, ४ वटा मिल्क एनालाईजर र २० वटा ५ सय लिटर क्षमताका पानी ट्यांकी खरिद गरिएको छ ।

जसमध्ये मिनी टिलर, प्लास्टिक टनेल, कम्बाइन्ड मिल, च्याफ कटर र भेटेनरीसम्बन्धी उपकरणमा किसानको ५० प्रतिशत साझेदारी रहने प्रावधान छ । कृषि कर्म गरिरहेका किसानको दिनचर्या सहज बनाउन सघाउने उद्देश्यले यति धेरै सामग्री खरिद गरिएको काफ्लेको भनाइ छ । 'वडा कार्यालयमा आएका मागको मूल्यांकनपश्चात् सम्बन्धित वडाको सिफारिसमा सामग्री वितरण भइरहेको छ, सामग्री स्थानीय आवश्यकता र किसानकै मागका आधारमा खरिद गरिएको हो,' काफ्लेले भने ।

Agricultural implements worth 36 million to the farmers of Fidim

खरिद गरिएका केही सामग्री वडाकै स्वीकृत बजेटबाट खरिद गरिएकाले सम्बन्धित वडामै वितरण भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आहृवान गर्दा सामग्रीको मूल्य प्राविधिक लागत अनुमानभन्दा घटेका कारण ठूलो परिमाणमा रकम बचत भएको छ ।

चालु आर्थिक वर्षमा १६ प्रकारका सामग्री खरिद गर्न ६ करोड ६२ लाख ९४ हजार ५८३ रुपैयाँ लागत अनुमान गरिएकामा ४ करोड ६२ लाख ८५ हजार ५१६ रुपैयाँमा ठेक्का लाग्दा १ करोड ४८ लाख ३ हजार ५३ रुपैयाँ बचत भएको कृषि औजार तथा उपकरण खरिद व्यवस्थापनसम्बन्धी पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully