पत्रकार लुइटेल र भण्डारी पुरस्कृत, ९५ सञ्चारकर्मीको सामुहिक दुर्घटना बिमा 

जेष्ठ १४, २०८२

लक्ष्मी गौतम

Journalists Luitel and Bhandari awarded, collective accident insurance for 95 journalists

पाँचथर — पाँचथरमा क्रियाशील पत्रकार राधा लुइटेल र जितेन्द्र भण्डारी पुरस्कृत भएका छन्। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसर पारेर गोरखापत्र दैनिककी पाँचथर संवाददाता राधा लुइटेल र इमेज टेलिभिजनका संवाददाता जितेन्द्र भण्डारी नगद पुरस्कारसहित पुरस्कृत भएका हुन्।

प्रेस युनियन पाँचथरले वितरण गर्दै आएको स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कार लुइटेल र स्वर्गीय लोकमन बाँस्कोटा स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई प्रदान गरिएको हो। दुवै पुरस्कारको राशी समान दश हजार रुपैयाँ छ।

दुवै सम्मान र पुरस्कार प्रत्येक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ । यसैबीच प्रेस युनियन पाँचथरले जिल्लामा कार्यरत ९५ जना पत्रकार र सञ्चारकर्मीको सामुहिक दुर्घटना बिमासमेत गरेको छ ।

जिल्लामा रहेर सक्रिय पत्रकारिता गरिरहेका पत्रकारसँगै रेडियो, पत्र पत्रिका र अनलाइनमा कार्यरत यत्तिका पत्रकारको सामुहिक दुर्घटना बिमा गरिएको युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेलले बताए।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully