सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु पासाङलहामु गाउँपालिकाले पर्यटन शुल्कबाट मात्रै १५ करोड बढी राजस्व संकलन गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्यटन शुल्क बापत १५ करोड १३ लाख ८० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
गाउँपालिकाले गत साउनदेखि वैशाख मसान्तसम्म १० महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कट्टेलले जानकारी दिए।
उनका अनुसार यो महिनाको जेठ १ गतेदेखि ११ दिनमै ५२ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको छ । गाउँपालिकाले विदेशी पर्यटक बाट प्रति व्यक्ति २ हजार रुपैयाँका दरले पर्यटन शुल्क संकलन गर्दै आएको र उक्त आन्तरिक आम्दानी खुम्बु क्षेत्रको समग्र विकासमा उपयोग हुँदै आएको पालिका अध्यक्ष मिङमा छिरि शेर्पाले बताए ।
लुक्ला, जोरसल्ले र लुक्ला हेलिप्याड गरी तीन स्थानहुादै पर्यटकहरू खुम्बु क्षेत्रको सगरमाथा आधार शिविर, थामे उपत्यका, गोक्यो उपत्यका र खुम्बु उपत्यका भ्रमण गर्न विभिन्न मुलुकबाट पर्यटकहरू आउने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए ।
गत साउनदेखि हालसम्म ४५ हजार एक सय १३ जना विदेशी र आठ हजार दुई सय ५७ जना सार्क राष्ट्रका गरी कुल ५३ हजार तीन सय ७० जना पर्यटकहरूले खुम्बु क्षेत्र भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।
सार्क राष्ट्र र चीनका पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ र सार्क बाहेकका अन्य मुलुकका पर्यटकहरूबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ पर्यटन शुल्क लिने गरिएको गाउँपालिकाले जनाएको छ ।
