पाँचथर — मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्डको हेंवा खोलामा बेलिब्रिज जोड्ने काम सुरु भएको छ ।पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बगेको यो खोलामा डिभिजन कार्यालय इलामले ७० मिटर लामो बेलिब्रिज जोड्न सुरु गरेको हो ।
पछिल्लो पटक २०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएको थियो । त्यसअघि २०८० असार २ गतेको बाढीले यहाँको पक्की पुल बगाएपछि लगाइएको बेलिब्रिज पनि बगाएपछि त्यहाँ ह्युम पाइपमार्फत पानी तर्काएर यातायात र ढुवानीका साधन आवागमन गराइँदै आएको थियो ।
यसैबीच संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय इलामले गत फागुनमा बोलपत्र आह्वान गरी यहाँ पुनः बेलिब्रिज जोड्ने प्रक्रिया थालेको थियो ।यसपटक यहाँ थालिएको बेलिब्रिज जोड्न दोभान सुपर सौगात लाइट बिल्डर्स जेभिले सम्झौता गरेको छ ।
बेलिब्रिज जडान र त्यसका लागि बेस निर्माण तथा सडक पहुँचका लागि ३ करोड ४९ लाख ३ सय ३६ रुपैयाँमा ठेक्का लागेको हो । सोमबार सुरु भएको बेलिब्रिज जडानको काम सकिन करिब १५ दिन लाग्ने सडक डिभिजन इलामका प्रमुख एवं इन्जिनियर पवन भट्टराईले बताए ।
यहाँ बेलिब्रिज जडान भएपछि पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङसँगै सिंगो ताप्लेजुङका नागरिक लाभान्वित हुनेछन् ।
