काठमाडौँ — युवालाई श्रमको सम्मान भाव जगाउने उद्देश्यले विराटनगरमा आयोजना गरिएको सीप उत्सव-२०८२ बाट उत्कृष्ट तीनजना स्कील्स् आइकन्स घोषित भएका छन् ।
उत्कृष्ट हुनेमा अटोमोबाइलतर्फ मनमोहन स्मृति पोलिटेक्निकका प्रशिक्षार्थी चन्द्रदेव यादव, होटल म्यानेजमेन्टतर्फ नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयका विवश कोइराला र सूचना प्रविधि (आईटी) तर्फ पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानकी सोनाम नेम्वाङ छन् ।
औद्योगिक प्रशिक्षार्थी स्किल्स् आइकनका लागि होटल म्यानेजमेन्ट, अटोमोबाइल तथा सूचना प्रविधि (आईटी) क्षेत्रका युवाबीच प्रतिस्पर्धा गराइएको थियो । यसमा कोशी प्रदेशमा प्राविधिक व्यावसायिक शिक्षा र तालिम दिने सात वटा संस्थाबाट छनौट भएका १६ जना प्रतिस्पर्धीमध्येबाट तीन जना प्रशिक्षार्थी उत्कृष्ट भएका हुन् ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयसितको समन्वयमा उद्योग संगठन मोरङ तथा इन्स्योर परियोजनाले संयुक्त रुपमा आयोजना गरेको सीप उत्सवमा श्रम तथा रोजगारीबारे वृत्ति, परामर्श र विभिन्न पेशाकर्मीका सफलताका कथालगायत लाइभ ट्रेनिङ गराइएको उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले बताए ।
कार्यक्रमले युवाहरुमा सीप सिक्नका लागि प्रेरणा जगाएको इन्स्योर परियोजनाका घनश्याम लिम्बुले बताए ।
यस कार्यक्रमलाई आगामी वर्षहरुमा अझै परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको स्कील्स् आइकनका योजनाकार अजिप चापागाईंले बताए ।
