दुर्घटना न्यूनीकरण गर्न सडकमा ‘थर्मप्लास्टर’

जेष्ठ ११, २०८२

राकेश नेपाली

'Thermplaster' on roads to reduce accidents

उदयपुर — मदन भण्डारी लोकमार्गस्थित उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा थर्मप्लास्टर गरिएको छ । अत्यधिक सवारी दुर्घटना हुने स्थलको रूपमा चिनिएको सो ठाउँमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले सडकमा थर्मप्लास्टर लगाएको हो ।

आरोलो बाटोमा मोडका कारण सवारी दुर्घटना बढेकाले सवारीको गति कम गर्न थर्मप्लास्टर लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । ‘थर्मप्लास्टिक रेखाले सवारीको गति कम गर्न संकेत गर्छ, रातको समयमा पनि टल्कने भएकाले चालकहरूले सजिलै देख्ने र टाढैबाट गति नियन्त्रण गर्न यसले सहयोग पुर्‍याउँछ,’ उनले बताए ।

पछिल्लो समय मदन भण्डारी लोकमार्ग अन्तर्गत रामपुर–गाईघाट–कटारी सडक खण्डमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार २०८१ साउन देखि हालसम्म ५७ जनाको ज्यान गएको छ । १० महिनाको अवधिमा २ सय ५ ओटा दुर्घटना हुँदा ४ सय ३४ जना घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ । 

प्रत्येक दिनजस्तो हुने दुर्घटनामा मोटरसाइकल, अटो रिक्सा, सिटी, कार, जीप, भ्यानदेखि ठूला सवारी साधन, ट्रक, बस र टिपरसम्म पर्ने गरेका छन् । तीव्र गति र मोडका कारण दुर्घटना हुने गरेको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ । दुर्घटना भएकामध्ये तीव्र गतिका कारण १ सय ३ ओटा, मादक पदार्थ सेवन गरेर २१ वटा र ९ ओटा ब्रेक फेल भएर सवारी दुर्घटना भएको ट्राफिक कार्यालयका प्रमुख थापाले बताए । चालकको लापरबाही, चिप्लो सडक, पैदलयात्रीले एक्कासि बाटो काट्दा, घुम्तीमा ओभरटेक गर्दा बाँकी दुर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए ।

चालक र पैदलयात्रीहरूलाई ट्राफिक सचेतनाको अभावका कारण पनि दुर्घटना बढेको उनको भनाइ छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत रामपुर–कटारी सडक खण्डमा अत्यधिक दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरी र स्थानीयहरूको सहयोगमा सडक छेउमा दुर्घटना न्यूनीकरणका लागि होर्डिङबोर्ड, घुमाउरो सडकमा ड्रम, सूचना पाटी र खतराका संकेतहरु राखिएका छन् ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully