कोशी प्रदेशको विनियोजन विधेयक : आर्थिक सबलीकरणदेखि पर्यटन प्रवर्द्धनसम्म

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Koshi Pradesh Appropriation Bill: From Economic Empowerment to Tourism Promotion

विराटनगर — कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेशसभा बैठकमा आइतबार सार्वजनिक गरेका छन् । सरकारले आर्थिक समृद्धि, सुशासन, दिगो विकास र सेवा प्रवाहमा सुधारलाई नीति र बजेटको मूल आधार बनाउने दाबी गरेको छ ।

विधेयकमा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणलाई दीर्घकालीन लक्ष्य बनाएर समावेशी र उत्तरदायी शासन प्रणालीमार्फत जनताको जीवनस्तर सुधार गर्ने उद्देश्य राखिएको छ । विधेयकमा समग्र आर्थिक आधारको सबलीकरण गरी हरित अर्थतन्त्रको प्रवर्द्धन, निजी–सार्वजनिक साझेदारीमा लगानी र राजस्व वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । दिगो विकास सुनिश्चित गर्न वातावरणीय संरक्षण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमलाई समेत बजेटमार्फत प्राथमिकता दिइने उल्लेख छ ।

बजेटले गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा, ग्रामीण पूर्वाधार, र आधुनिकीकरण तथा व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेको छ । प्रदेशभरका विद्यालय, अस्पताल, कृषि सेवा केन्द्र र सडक संरचनाको स्तरोन्नति गरिनेछ । मन्त्री मगरले भने, ‘विकासका सम्भावनालाई परिणाममुखी बनाउँदै समृद्धिको जग बसाल्ने समय हो, त्यसैले बहुवर्षीय योजना र रूपान्तरणकारी कार्यक्रममै बजेट केन्द्रित हुनेछ ।’

प्रदेश सरकारले २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गर्दै धार्मिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धन गर्ने जनाएको छ । पर्यटन पूर्वाधार विकासमा निजी क्षेत्र, स्थानीय सरकार र समुदायसँग सहकार्य गरिनेछ । त्यस्तै, युवा रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनका लागि प्राविधिक तालिम, व्यावसायिक शिक्षा र स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गरिनेछ । विधेयकमा विद्युतीय सेवा प्रणालीको सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण र पारदर्शी बजेट कार्यान्वयनलाई विशेष जोड दिइएको छ । सार्वजनिक खर्चलाई मितव्ययी बनाउँदै आन्तरिक राजस्व अभिवृद्धिका लागि नीतिगत सुधार गरिनेछ ।

विनियोजन विधेयकमा सरकारको ध्यान केन्द्रित हुने २४ वटा क्षेत्र उल्लेख छन् । तिनमा विपद् व्यवस्थापन, कानूनी शासन, जल–वन स्रोतको संरक्षण, यातायात क्षेत्रको सुधार, सहकारीको नियमन र सार्वजनिक वित्तीय व्यवस्थापनजस्ता क्षेत्र समेटिएका छन् ।

मन्त्री मगरले सभामा प्रस्तुत विधेयकका सिद्धान्त र प्राथमिकतामाथि हुने छलफललाई आगामी पूर्ण बजेट तर्जुमाको आधार बनाइने स्पष्ट पारे । भने, ‘जनतामा आशा र विश्वास जगाउने, परिणाममुखी र अनुशासित बजेट ल्याउने हाम्रो तयारी छ ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully