सुनसरी — कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बिउबिजन बरामद गरेको छ ।
टोलीले सुनसरीको इनरुवा र कोशी गाउँपालिकाका विभिन्न फर्मबाट १ हजार २५ किलोग्राम अवैध धान तथा अन्य बालीका जातको बिउ बरामद गरेको हो ।
अनुगमन टोलीले बीबी–११ जातको धानको बिउ ९२० किलो, एमटीयु–७०२९ जातको बिउ ३० किलो, कोमल १०१ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रिएको बिउ ४ किलो बरामद गरेको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिएका छन् ।
नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बिउ बिक्री वितरण गर्न पाइँदैन । अवैध बिउहरू बिक्री हुँदै आएको गुनासो आएपछि मन्त्रालयले अनुगमनलाई तीव्रता दिएको सचिव पाण्डेले बताए ।
मन्त्रालयले यसअघि गत पुसमा सरकारले सिफारिस नगरेको बिउ बिजन बिक्री वितरण गर्दै कम गुणस्तरको भारतीय बिउ बेच्दै आएका एग्रोभेटहरूलाई कारबाही थालेको थियो ।
त्यस क्रममा सुनसरीका आधा दर्जन एग्रोभेट समेटिएका थिए । मन्त्रालयले पूर्वी तराईका झापा, मोरङ र सुनसरीका किसानलाई नेपाल सरकारले सिफारिस गरेका विभिन्न दलहन तथा तेलहनको बिउ नबेची भारतीय गुणस्तरहीन बिउ बेच्ने विभिन्न एक दर्जनभन्दा बढी एग्रोभेटहरूविरुद्ध कारबाही थालेको थियो ।
भारतीय सीमावर्ती क्षेत्रका जिल्लामा खुला सीमाको फाइदा उठाउँदै गैर कानुनी रूपमा गुणस्तरहीन बिउ बेचिएको गुनासोका आधारमा प्रदेश सरकारले ती व्यापारिक फर्महरूमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न संघीय सरकारको कृषि मन्त्रालयलाई सिफारिस गरेको हो ।
