खोटाङ — जिल्लाको दक्षिणी क्षेत्र खोटेहाङ र जन्तेढुंगा गाउँपालिका जोड्ने सावाखोलास्थित मोटरेबल पुल उद्घाटन गरिएको छ । जन्तेढुंगा–५ चिसापानी र खोटेहाङ–७ खोटाङबजार जोड्ने सावाखोलाको पुल कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शनिबार उद्घाटन गरेका हुन् ।
८ करोड तीन लाख ७८ हजार ७ सय १५ रूपैयाँको लागतमा २०८२ वैशाख १० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०८० वैशाख ११ गते सुचन आदित्य विजय निर्माण सेवाले सम्झौता गरेको थियो । उक्त पुल ४१.४ मिटर लामो छ । पुल बनेपछि जन्तेढुंगा र बाराहापोखरी गाउँपालिकावासीलाई सदरमुकाम दिक्तेलसम्म सिधा यातायात सम्बन्ध जोडिएको छ ।
उद्घाटनमा मन्त्री राईले पहिलेका जनप्रतिनिधिहरूले कामभन्दा बढी बोलेको बताए । पहिलेका जनप्रतिनिधिहरू जे गरे पनि अबको जनप्रतिनिधिलाई काम नगर्ने छुट नभएको राईले दाबी गरे । राईले बोल्नेलाई भन्दा काम गर्नेलाई छान्नु पर्ने समेत आग्रह गरे । ‘पहिलेका जनप्रतिनिधिहरूले जे जे गरे पनि अबको जनप्रतिनिधिले बोल्नु भन्दा बढी काम गर्नु पर्छ,’ राईले भने,‘जनताले बोल्नेलाई भन्दा काम गर्नेलाई छान्नु हुने भएकाले अबको जनप्रतिनिधिले काम नगर्ने छुट छैन ।’
