पाँचथर — पाँचथरमा आयोजित स्तन र पाठेघरको मुखमा हुने क्यान्सर परीक्षण शिविरबाट २ हजार बढी महिला लाभान्वित भएका छन् । शुक्रबार सुरु भई शनिबार सम्पन्न दुईदिने शिविरमा २ हजार १ सय १३ जनाले विभिन्न रोगको परीक्षण गराएका हुन् ।
भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा फिदिम नगरपालिकाद्वारा आयोजित निःशुल्क क्यान्सर परीक्षण शिविरमा आएका २ हजार १ सय १३ मध्ये १ हजार ५ सय २ जना महिलाले पाठेघरको मुख र स्तन परीक्षण गराएका थिए ।
यसैगरी २ सय ६ जनाले भिडियो एक्स–रे, ३१ जनाले आङ खस्ने समस्याको परीक्षण र ३ सय ५६ जनाको विविधि जटिलताको परीक्षण गराएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । शिविरमा परीक्षण गराएमध्ये पाठेघरको जटिलता भएका २४ जना महिलालाई अप्रेसनका लागि रेफर गरिएको छ ।
गत वर्ष फिदिम नगरपालिकाको आयोजनामा एचपीभी किटमार्फत महिलाको पाठेघरमा हुने क्यान्सर परीक्षण गराएका ९ सय ८६ मध्ये ३७ जना महिलामा पाठेघरको क्यान्सर पुष्टि भएसँगै परीक्षणको दायरा बढाउँदै यो शिविर आयोजना गरिएको नगर प्रमुख काफ्लेको भनाइ छ ।
काठमाडौं र केही निश्चित सहरबाहिर क्यान्सर परीक्षणको पहुँच नभएकाले नागरिकले जोखिम पहिचान गर्न नसकिरहेको अवस्थामा मोफसलमा यस्ता शिविर आयोजना गर्न थालिएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले बताए ।
मानिस स्वस्थ छँदै क्यान्सर गराउने भाइरस सक्रिय भइसकेका हुने भएकाले यस्ता शिविरले जोखिम पहिचान गरी उपयुक्त विधिबाट क्यान्सर जित्न नागरिकलाई सहज हुने उनको भनाइ छ ।
परीक्षणमा क्यान्सर पुष्टि भएका महिलालाई अवस्था हेरेर अप्रेसन वा उपचार के गर्नुपर्ने हो पहिचान गरी सोही अनुसारको सेवा दिइने पनि चालिसेले जनाए ।
शिविरमा आएका सेवाग्राहीहरूले यस्तो शिविरले आफूहरूमा हुन सक्ने सम्भावित जटिलताको पहिचान हुने भएकाले ठाउँठाउँमा शिविर आयोजना गर्न सुझाव दिएका थिए ।
