हावाहुरीले उडायो घरको छानो, खुला आकाशमुनि बास

जेष्ठ ९, २०८२

राकेश नेपाली

The roof of the house was blown away by the wind, living under the open sky

उदयपुर — ‘सम्पत्तिको नाममा यही एउटा घर थियो । त्यो पनि हावाहुरीले उडाइदियो । अब कहाँ बस्ने, के खाने ?’ उदयपुरगढी गाउँपालिका–८ गडरेकी ३७ वर्षीया कुमारी बयालकोटी अहिले विलौना गरिरहेकी छन्। बुधवार दिउँसो ४ बजे आएको हावाहुरीले काठ र टिनले बनेको एक तल्ले घर भत्काइदिएपछि कुमारीको परिवार यति बेला खुल्ला आकाशमुनि बस्न बाध्य छन्।

 ‘२०७८ सालमा वडा कार्यालयले अति विपन्न भनेर टिनको छानो लगाइदिएको थियो, बुधवारको हावाहुरीले जस्ता मात्रै उडाएन, घरमा भएका अन्नपात, लुगाकपडा सबै उडाइदियो, अब कहाँ जाने ?,’ उनले दुखेसो पोखिन् । कुमारीको परिवारमा १२ वर्षकी एउटी छोरी, ६ वर्षको एउटा छोरा र श्रीमान् छन् ।

‘नशा सम्बन्धी रोगका कारण थलिएर बसेका ३९ वर्षीय श्रीमान् काम गर्न सक्दैनन्, मेरो पनि पेटको शल्यक्रिया गरेको, गह्रौँ काम गर्न सक्दिन, परिवार चलाउन पनि धौ-धौ छ,’ कुमारीले बताइन्। आर्थिक अवस्था समेत दयनीय रहेको र बाहिर काम गरेर खान नसक्ने अवस्था भएपछि वडा कार्यालयले अनुदानमा २ वटा बाख्रा दिएको थियो। कुमारीले सुँगुरपालन गर्न खोर समेत बनाएकी थिइन् । तर हावाहुरीले सबै उडाइदियो ।

‘म त गाउँतिर गएकी थिएँ, एक्कासी ठुलो हावाहुरी आयो, छोराछोरी घरमै भएकाले आत्तिएर आएँ, घरको सामानहरू झरेर छोरीको खुट्टा काटेर चिच्याएपछि छिमेकी बहिनीले छोरीलाई जंगलमा लगेर छाडिछन्, जसोतसो ज्यान त बच्यो, तर सम्पत्तिको नाममा रहेको एउटै घर थियो, उडायो,’ उनले भनिन् ।

The roof of the house was blown away by the wind, living under the open sky

हावाहुरीसँगै आएको पानी घरभित्र पसेपछि घरमा भएको लत्ताकपडा, अन्नपात लगायतका सामाग्रीमा क्षति पुगेको छ। कुमारीको परिवार अहिले छिमेकीको आश्रयमा बसेको छ। ‘कहाँ बस्नु, के खानु, छोराछोरीको समेत बिजोग भयो, घर पनि एकान्त ठाउँमा छ, कोसँग सहयोग माग्नु? गरिबको कोही नहुने रहेछ,’ कुमारीले भनिन्। 

नशाको रोगले थलिएर बसेका श्रीमान् (नेत्रबहादुर सार्की)लाई औषधि खुवाउने पैसा समेत नहुँदा समस्या झन् जटिल बन्दै गएको उनले बत्ताइन् । घरको आयस्रोत केही नहुँदा घर चलाउन पनि धौ-धौ भएको उनको भनाइ छ । ‘म आफैँ बिरामी छु, काम खोज्न कहाँ जाऊ, म काम खोज्न जाँदा घरमा छोराछोरी हेरिदिने नि कोही हुँदैनन्, आफन्तसँग ऋण मागेर पेटको शल्यक्रिया गरेँ, ऋण तिर्ने त परको कुरा जीवन चलाउनै धौ-धौ भएको छ,’ उनले भनिन् ।

कुमारीको घर उडाएको विषयमा आफूलाई जानकारी आएको तर आर्थिक वर्षको अन्तिममा बजेट नभएकाले गाउँपालिकामा सम्पर्क गर्न सुझाव दिएको वडाध्यक्ष थिरबहादुर राउतले बताए । ‘प्रहरीले सरजमिन मुचुल्का तयार गरेपछि गाउँपालिका मार्फत केही राउत उपलब्ध गराउन म पहल गर्छु,’ उनले भने । 

डाँडामा घर रहेका कारण कुमारीको घरमा खानेपानीको पनि समस्या छ । ‘खानेपानी लिन आधा घण्टाको बाटो हिँड्नुपर्छ, म पनि गह्रो सामान बोक्न सक्दिन छोरी पनि सानै छ, नसकी नसकी काम गरिरहेकी छु,’ उनले भनिन् । आर्थिक अवस्था दयनीय रहेको र घर चलाउनै धौ-धौ भएको अवस्थामा भएको एउटा घर र बाख्रा, सुँगुरको खोर समेत उडाएपछि कुमारीले प्राण बचाउन सबैसँग सहयोगको याचना गरिरहेकी छिन्।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully