धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका-१ स्थित छनंबर बुधबारेबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
ढिस्कोमा खटिएको चेकिङ टोलीले शुक्रबार साँझ ६ बजे पाँचथर, मिक्लाजुङ गाउँपालिका-८, बुधबारेका २८ वर्षीय मौसम लिम्बूमाथि शंका लागि जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट ट्याकडोल लेखिएको लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
लिम्बू प्र १-०१-०१५ प ३१४६ नम्बरको मोटरसाइकलमा मोरङको लेटाङबाट धनकुटा, बुधबारेतर्फ आउँदै गरेका थिए । सोही झोलामा डाइसी २० डेमेक्लोसीलिन औषधिसमेत ९ सय ट्याब्लेट फेला परेकोले जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । उल्लेखित मोटरसाइकल र उक्त औषधिसमेत बरामद गरी इलाका प्रहरी कार्यालय राजारानीमा ल्याएर अनुसन्धानको भइरहेको खनालले बताए ।
