गाईघाट टाउन प्लानिङको काम गुणस्तरहीन भएको आरोप

जेष्ठ ९, २०८२

राकेश नेपाली

Gaighat town planning work is alleged to be of poor quality

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिकाभित्रको १४ दशमलव ५ किलोमिटर सडक कालोपत्रेका क्रममा गुणस्तरहीन काम भएको स्थानीयले आरोप लगाएका छन् । विश्व बैंकको सहयोगमा गाईघाट बजार क्षेत्रमा निर्माण  भइरहेको सडक निर्माणका काममा कमसल सामग्रीको प्रयोग गरिएको स्थानीयले आरोप लगाएका हुन् । 

गाईघाट टाउन प्लानिङका सडक, सिटी हल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजी चोक–फुलचोक–बोटेटोल, त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगति टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषि बजार पश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने क्रममा कमसल सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम भइरहेको त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइरालाले बताए । 

‘हामी जनप्रतिनिधिहरूकै आँखामा छारो हालेर ठेकेदारले कमसल सामाग्रीको प्रयोग गरेर सडक निर्माण गरिरहेको छ, सबै सचेत नागरिकले आवाज उठाउन आवश्यक छ,’ उनले भने । नगरपालिकाले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न कुनै कन्जुस्याइँ नगर्दा पनि असारको १८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने काम सुस्त गतिमा भइरहेको उनको भनाइ छ ।

‘सडक कालोपत्रे गर्नुअघि ‘बेस र सब बेस’ नहाली माटोमा मात्रै रोलर लगाएर अलकत्रा हाल्न लागिएको छ, यसो गर्नु गुणस्तरहीन काम हो, नगरपालिकाले अनुगमन गरेर ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्छ,’ निमार्ण व्यावसायी महासंघ उदयपुरका महासचिव सुदिप दाहालले बताए । उनका अनुसार कालोपत्र गर्नुभन्दा ‘सब बेस ग्रेडिङ गर्नुपर्ने हुन्छ, गिट्टी र गिट्को धुलोको मात्रालाई मिलाएर रोलर लगाएपछि केही दिन त्यसलाई सुक्न दिनुपर्ने र त्यसपछि मात्रै धुलो र गिट्टी हटाएर सडक कालोपत्रे गर्नुपर्ने हुन्छ । तर सडक कालोपत्रेको कुनै मापदण्ड पूरा नगरी अलकत्रा बिछ्याउन लागिएकाले सबैले खबरदारी गर्न आवश्यक रहेको उनले बताए ।

Gaighat town planning work is alleged to be of poor quality

विश्व बैंकले सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरी ४ वटा वडाका ६ वटा सडकको कालोपत्रेका लागि अशिर्वाद आशिष जेभीले ६६ करोड ११ लाख १ सय ४० रुपैयाँमा १५ महिनामा काम सक्ने गरी सम्झौता गरिएको छ । २०८१ वैशाख २७ गते त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले शिलान्यास गरेको सडक निर्माणमा चरम ढिलासुस्ती र गुणस्तरहीन काम भइरहेको भन्दै स्थानीयहरूले सामाजिक सञ्जालमा चर्को विरोध गर्दै आइरहेका छन् । 

गाईघाट बजारको पिपलचौक र आसपासका सडक, पुरानो बसपार्क लाइन, पुरानो पेट्रोल पम्प लाइन, विद्युत् प्राधिकरण लाइनमा हाल नाला निर्माण र सडकको काम भइरहेको छ । सडक निर्माणको मापदण्ड अनुसार माटो, गिट्टी, बालुवा तथा ग्राभेल पेलेर सडक बनाउनुपर्नेमा त्यसो नभएको स्थानीयको भनाइ छ । 

Gaighat town planning work is alleged to be of poor quality

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले सामाजिक सञ्जालमा आइरहेका टिप्पणीले आफ्नो ध्यानाकर्षण भएको बताउँदै चाँडै नगरपालिका र प्राविधिक टोलीसहित अनुगमन गरिने र गलत भएको भए कारबाही हुने बताए । ‘सामाजिक सञ्जालमा धेरैले टाउन प्लानिङको काम गुणस्तरहीन भइरहेको भनेर आइरहेको छ, सत्यतथ्य बुझ्न हामी अनुगमन गर्दैछौँ, दोषी भेटिए कारबाही गर्छौँ,’ उनले भने ।

४ वटा वडाका ६, सडकलाई दुई प्याकेज गरी टेन्डर आह्वान गरिएको थियो । पहिलो प्याकेजमा करिब १० किलोमिटर सडक र दोस्रो प्याकेजमा करिब ४ दशमलव ५ किलोमिटर सडक निर्माण गर्ने गरी टेन्डर आह्वान गरिएको हो । कुल १४ दशमलव ५ किलोमिटर सडकलाई ६६ करोड ११ लाख १ सय ४० (पिएस र भ्याटसहित) रुपैयाँमा १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी आशिष आशिर्वाद– स्वामी नारायाण जेभीले ठेक्का सम्झौता गरेको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully