ताप्लेजुङ — पाथीभरा दर्शनका लागि जाँदै गरेका एक बालकले २०७६ सालमा ज्यान गुमाए। त्यही घटनापछि झापा बिर्तामोडका शरद जोशी समेतको सक्रियतामा तीर्थयात्रीलाई अक्सिजन सिलिन्डर र औषधि निशुल्क उपलब्ध गराइँदै आएको छ ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले आठ वर्षदेखि यहाँ यस्तो सहयोग गर्दै आएको हो। अक्सिजन अभावकै कारण ती बालकको ज्यान गएपछि फेरि त्यस्तै क्षति हुन नदिन यी संस्थाले सहयोग गर्दै आएका छन् ।
तीन थान बोकेर हिँड्न मिल्ने अक्सिजन सिलिन्डरबाट सुरु भएको सहयोग अन्तर्गत अहिले औषधि, स्यानिटरी प्याड हट ब्याग लगायतका सामग्री प्राप्त भएको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका अहेव उमनाथ पौडेलले जानकारी दिए । क्लबका संस्थापक अध्यक्ष समेत रहेका जोशी सहितको टोली हरेक वर्ष उपस्थित भएर पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्ने र समितिले उपचार केन्द्रलाई उपलब्ध गराउने क्रम चलेको पौडेलले बताए ।
रोटर्याक्ट क्लब बिर्तामोड मिडटाउनका परियोजना संयोजक दिनेश खतिवडाका अनुसार, यसलाई क्लबको वार्षिक कार्यक्रमको रूपमा समावेश गरिएको छ। यस वर्ष क्लबका अध्यक्ष सञ्जय अग्रवालको सहकार्यमा एक लाख रुपैयाँ बराबरको औषधि, उपकरण, सेनेटरी प्याड लगायतका सामग्री प्रदान गरिएको थियो ।
क्लबका सदस्यहरू दिनेश खतिवडा, मौसम घिमिरे, दिपेश अग्रवाल, सौम्या शर्मा, र देव शर्माको टोलीले मन्दिर परिसर र पदमार्गको सरसफाइ समेत गरेको समितिले जनाएको छ । निरन्तर सहयोग गर्ने क्लब तथा व्यक्तिलाई क्षेत्र विकास समितिले कदरपत्र मार्फत सम्मान गरेको थियो ।
